आजभोलि युवायुवतीको ढाड, कम्मर, पाखुरा आदिमा ट्याटू देख्न सकिन्छ। आफूलाई फेसनेबल देखाउन कतिपयले शरीरमा ट्याटू बनाउने गरेका छन्।
काठमाडौँ, ठमेलमा रहेको ‘गगन ट्याटू इन’का म्यानेजर जीवन राजवंशीलाई ट्याटू बनाउन भ्याइनभ्याइ छ। पछिल्लो समय युवतीहरूको ट्याटूप्रति आकर्षण बढेको बताउँछन्, उनी। ‘ट्याटू खोप्न युवाभन्दा पनि युवती धेरै आउने गरेका छन्,’ उनी भन्छन्, ‘छाती, पिठ्ँयू, पाखुरालगायत भागमा ट्याटू बनाइदिन भन्छन्।’
पहिला ट्याटू बनाउँदा देवीदेवताको आकृति बनाइन्थ्यो। अचेल चाहिँ युवायुवतीले प्रेमी–प्रेमिकाको नाम लेखाउने अथवा आफूलाई मन पर्ने व्यक्ति वा वस्तुको चित्र कोर्ने गरेको जीवन बताउँछन्। ‘ट्याटू मानिस शारीरिक र मानसिक रूपले तयार हुनुपर्छ,’ उनी भन्छन, ‘ट्याटूको आकारअनुसार पैसा लिने गर्छौं। १५ सय रुपैयाँबाट मूल्य सुरु हुन्छ।’ पहिला कालो ट्याटू मात्र पाइन्थ्यो अहिले चाहिँ भनेअनुसारको रङमा रंगिन ट्याटू बनाउन सकिन्छ।
भक्तपुर, कौशलटारकी २४ वर्षीया सुजाता भट्टराईले ट्याटू खोपेको दुई वर्ष भयो। ‘मैले ट्याटू खोपाएको दुुई वर्ष भयो,’ उनी भन्छिन्, ‘यो ट्याटू मैले आमाबाबाका लागि बनाएकी हुँ। उहाँहरूले मेरा लागि धेरै कुरा गर्नुभएको छ। उहाँहरूका लागि अरू केही गर्न नसके पनि आफ्नो हातमा ‘आमाबाबा’ लेखेको ट्याटू बनाएकी हुँ।’ आमाबुबा मुटुको धडकन भएकाले उहाँहरू सधैँ आफ्नो साथमा होस् भनेर ट्याटू बनाएको सुजाता बताउँछिन्।
आफूलाई सानैदेखि ट्याटूको सोख रहेको उनी बताउँछिन्। ट्याटू बनाउन जाँदा एकदमै डर लागेको उनी सुनाउँछिन्। ‘एकदमै दुखेको थियो र दुखाइ कम गर्न ममीबाबालाई सम्झिएकी थिएँ,’ उनी भन्छिन्। आर्ट गर्न जान्ने भएकाले आफैँ ट्याटू डिजाइन गरेको सुजाता बताउँछिन्।
काठमाडौँ, टेकु निवासी २५ वर्षीय सुनीता मगरले पनि हातमा तारासँगै फूलको ट्याटू बनाएकी छिन्।
उनले ट्याटू खोपेको एक वर्ष भयो। ‘फेसनेबल र एक्स्ट्रा देखिन ट्याटू खोपेकी हुँ,’ उनी भन्छिन्। काठमाडौँ, साँखु बस्ने २२ वर्षीय रोशनी श्रेष्ठले छातीनिर पुतलीको ट्याटू बनाएकी छिन्। ‘ट्याटू खोप्दा डरले मेरो अनुहार रातोनीलो भएको थियो,’ उनी भन्छिन्, ‘ट्याटूले शरीरको सुन्दरता बढाउँछ जस्तो लाग्छ।’ उनले छातीमा मात्र नभएर खुट्टामा पनि पुतलीको ट्याटू बनाएकी छिन्।
काठमाडौँ, साँखुकी २२ वर्षीय दीपा थापाले शरीरको तीन ठाउँमा ट्याटू बनाएकी छिन्। पाखुरामा प्रेमीको र आफ्नो नाम लेखेकी छिन्। ढाडमा सात–आठ वटा रंगिन पुतली बनाएकी छिन्। ‘एउटा बनाएपछि अझै बनाऊँ–बनाऊँ भन्ने लाग्ने रहेछ,’ उनी भन्छिन्। सुरुमा दुखे पनि पछि खासै नदुखेको उनी सुनाउँछिन्। ‘आफ्ना प्रेमीलाई माया देखाउन तिखो सियोको घोचाइ सहेर ट्याटू बनाएकी हुँ,’ उनी भन्छिन्।
काठमाडौँ, ठमेलस्थित ‘काष्टमण्डप ट्याटू सेन्टर’ का सगुन श्रेष्ठले छ वर्षयता ट्याटू हाउस चलाइरहेका छन्। उनले १८ वर्षभन्दा माथिका युवायुवतीलाई मात्र ट्याटू बनाउने गरेका छन्। अहिलेका युवायुवतीले पुतली, माछा, बिच्छी, अभिभावकको नाम–फोटो बनाउने उनी बताउँछन्। एक दिनमा चार–पाँच वटा सानो ट्याटू बनाउन सकिने उनी सुनाउँछन्। ‘ठूलो ट्याटू बनाउन दुई–तीन दिन लाग्छ,’ उनी भन्छन्।