ताजा अपडेट
श्रीपेज २१ माघ २०७७

छोरालाई सिकाउनैपर्ने कुरा

mom and son

महिलाको सम्मान गर्न

सानैदेखि छोरालाई महिलाको आदर र सम्मान गर्न सिकाउनुपर्छ । आमा, दिदीबहिनी र घरका अन्य महिला सदस्यबाटै त्यसको सुरुवात गर्न सकिन्छ । पितृसत्तात्मक समाजमा महिलालाई हेलाँहोचो गरिन्छ । घरका ठूलाबडाबाट महिला सदस्य अर्थात् हजुरबुबाबाट हजुरआमा, बुबाबाट आमा हेपिएको देख्दा सानो बालकले पनि त्यही सिक्छ । ‘महिलाको अपमान गर्नुपर्छ’ भन्ने बुझ्छ । अनि, दिदीबहिनीलाई हेप्न थाल्छ । बिहेपछि श्रीमतीलाई हेप्ने गर्छ । यहीँबाट गलत संस्कारको सुरुवात हुन्छ । बच्चालाई महिलाको सम्मान गर्न सिकाउन घरमा पुरुषले पनि महिलाको सम्मान गर्नुपर्छ ।

पुरुष पनि रुन सक्छन्

सानोमा छोरा रोयो भने धेरैले भन्ने गर्छन्– ‘के केटीजस्तै रोएको !’ यसबाट बच्चाले ‘केटाले रुनु हुन्न’ भन्ने सिक्छ । यसरी बालकलाई भित्रैबाट बलियो पुरुष बनाउने प्रयास घरकाले गर्छन् । तर, हरेक मानिसलाई आफ्नो दुःख, व्यथा व्यक्त गर्न दिनुपर्छ । रुँदा मन हलुका हुन्छ । दुःख कम भएको महसुस हुन्छ । त्यसैले छोरालाई रुन दिनुपर्छ । र, ‘हरेक मानिस रुन सक्छ, चाहे त्यो केटा होस् वा केटी’ भन्ने सिकाउनुपर्छ ।

आफ्नो काम आफैँ गर

छोरालाई बढी प्राथमिकता दिने घरपरिवारमा उसलाई घरको केही काम गर्न दिइँदैन । यसो गर्नु उसका लागि घातक हो । बच्चालाई आफ्नो काम आफैँ गर्न सिकाउनुपर्छ । आफैँ काम गर्ने बानीले उसले भविष्यमा आउन सक्ने हरेक चुनौती सजिलै सामना गर्न सक्छ ।
‘महिला–पुरुष समान हुन्’

सुन्दर समाजको परिकल्पना गर्नेले छोराछोरीमा विभेद गर्दैनन् । धेरैले छोरीलाई छोरासरह हुर्काइरहेका हुन्छन् । तर, यतिले मात्र विभेदको अन्त्य हुँदैन । अब छोरालाई छोरीसरह हुर्काउने बेला आएको छ । त्यसैले छोरालाई ‘महिला र पुरुष बराबर हुन्’ भनेर सिकाउन छुटाउनु हुन्न । यसो गर्दा आजको बालक भोलि असल श्रीमान् र पिता बन्न सक्छ । श्रीमतीलाई बराबरी ठान्न सक्छ ।

Maruti Cement