काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाउँदै प्राध्यापक डाक्टर गोविन्द केसीले आगमी फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै डाक्टर केसीले संविधानको रक्षार्थ अनशन बस्न लागेको जानकारी दिएका हुन्। त्यस्तै, उनको मागमा प्रकृया विपरित भएको संवैधानिक निकायहरुका नियुक्ति समेत रहेका छन्।
डाक्टर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले देशमा जुन संवैधानिक संकट छ, जसरी एक व्यक्तिले सिंगो राज्य संयन्त्र कब्जा गर्ने कुटिल प्रपञ्च चलिरहेको छ, यो पूर्ण रुपमा सफल भयो भने भविष्यमा हामीलाई सुधार र सुशासनका लागि लड्ने धरातल नै बाँकी रहने छैन। केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधानमात्रै नभई सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ।’
त्यस्तै, आफूले लामो समयदेखि चिकित्सा क्षेत्रमा उठाउँदै आएका माग समेत पूरा नभएको र भएका प्रतिवद्धता समेत कार्यन्वयन नभएको केसीले बताएका छन्। चिकित्सा शिक्षा ऐन जारी भएर चिकित्सा शिक्षा आयोग बने पनि ऐनमा सुधार गर्नुपर्ने बताएका छन्। सार्वजनिक संस्थाका रुपमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कुम्स र नेपाली सेनाको मेडिकल कलेजले अझै त्यति छात्रवृत्ति नदिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।