काठमाडौं : बागमती प्रदेशले तीन वर्षको अवधिमा ११५९ किलोमिटर सडक बनाएको छ। यस्तै तीन सय ९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ। यसले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्नेछ।
नयाँ सडकमध्ये ८९१ किलोमिटर सडक कच्ची, चार सय चार किलोमिटर सडक ग्राभेल, एक सय ५२ किलोमिटर सडक कालोपत्रे र ३३ किलोमिटर सडक ढलान गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष श्याम बस्नेतले जानकारी दिए। प्रदेश सुशासन केन्द्रले आइतबार ललितपुरस्थित कार्यालयमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यसमा ३७ वटा सडकपुल निर्माण भएको छ भने १६७ स्थानमा करिब ५७२ किलोमिटर कृषि सडकको निर्माण तथा मर्मत भई कृषि उपजको बजारीकरणमा सहयोग पुगेको छ।’
उनका अनुसार प्रदेशको गौरवको आयोजनाअन्तर्गत भीमफेदीदेखि कुलेखानीसम्म पोष्टबहादुर बोगटी सुरुङ मार्ग थालनी गरिएको छ। १.९ किलोमिटरको यो सुरुङ बनेपछि हेटौडा–काठमाडौं जोड्ने सडक १३ किलोमिटर छोटो हुनेछ।
केन्द्रका कार्यकारी निर्देशक विमल पोखरेलले प्रदेश सुशासन केन्द्र बागमती प्रदेशको थिंक ट्यांकको रुपमा काम गर्ने बताए। उनले भने, ‘केन्द्रले प्रदेश तथा स्थानीय तहका निर्वाचित, मनोनित वा नियुक्त पदाधिकारी तथा प्रशासनिक कर्मचारीको प्रशासनिक एवं व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि गर्नेछ।’
यी सबै कामको पाठ्यक्रम निर्माणदेखि अनुसन्धानसम्मका काम गरेर प्रदेश सरकारलाई नीतिनिर्माणमा सहयोग पुर्याउने उनको भनाइ छ। उनका अनुसार केन्द्रले सरोकारवालासँग साझेदारीमा विविध काम गर्नेछ।