ताजा अपडेट
श्रीपेज १२ आश्विन २०७७

कोरोना महामारीको बेवास्ता गर्दै युइएफए सुपर कपको फाइनल खेलमा २० हजार दर्शक उपस्थित

हंगेरीको बुढापेस्टमा बिहीबार राति सम्पन्न युइएफए सुपर कपको फाइनल खेलमा २० हजार दर्शक उपस्थित थिए । उपाधिका लागि स्पेनिस क्लब सेभिल्ला र जर्मन क्लब बायर्न म्युनिखले प्रतिस्पर्धा गरेका थिए । खेलमा बायर्नले २–१ ले बाजी मार्दै उपाधि जित्यो ।

बायर्नले उपाधि जित्नुभन्दा पनि यस फाइनल खेलको ठूलो समाचार बन्यो, पुस्कास रंगशालामा उपस्थित २० हजार दर्शक । पछिल्लो समय हंगेरी युरोपकै कोरोना भाइरसको हटस्पट बनिरहेको छ ।

धेरैजसो मिडियाले यसलाई ‘मानवीय बम’ भनेका छन् । आयोजकले व्यापक चेतावनी दिँदा पनि सेभिल्ला र बायर्नका समर्थक बुढापेस्टमा फाइनल हेर्न पुगेका थिए । आयोजकले दर्शकलाई सामाजिक दूरी कायम गर्न भनेको थियो । दर्शकले आयोजकको आग्रह सुनेनन् । दर्शकले देखाउनका लागि हल्का सामाजिक दूरी राखी सिटमा बसेका थिए । कोरोना भाइरस महामारी रहेको स्थानमा दर्शकको उपस्थितिले संक्रमित फैलाउन सक्ने अनुमान गरिएको छ ।

रंगशालामा बायर्नका भन्दा सेभिल्लाका दर्शकको उपस्थिति धेरै थियो । सेभिल्लाका समर्थक बस रिजर्भ गरी बुढापेस्ट पुगेका थिए । बायर्नका समर्थकले तीनमध्ये एक खण्ड टिकट हात पारे । बायर्नले पनि बुढापेस्टमा आफ्नो टोलीलाई समर्थन गर्नु भनेको मानवीय बम हुन सक्ने भनी सूचना जारी गरेको थियो । रंगशालामा दुई क्लबका मात्र नभएर स्थानीय समर्थक रहन सक्ने भएकाले नै संक्रमित हुन सक्ने जनाइएको छ ।

बाभरियाका मन्त्री माकुस सोडेरले सुपर कपमा समर्थकको उपस्थितिले आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन् । ‘बुढापेस्ट पछिल्लो समय निकै रिस्क क्षेत्रमा पर्छ । यहाँ संक्रमित हुने सम्भावना धेरै छ । यस्तो अवस्थामा रंगशालामा समर्थन गर्न जानु भनेको मूर्खता हो,’ सोडेरले खेलअघि समर्थकलाई आग्रह गरे । पछिल्लो डाटाअनुसार रंगशालामा उपस्थित भएका ६ हजार संक्रमित भएको अनुमान गरिएको छ ।

हंगेरीले पुस्कास रंशगालामा दर्शकको उपस्थितिबारे केही प्रतिक्रिया दिएको छैन । आयोजक सहरका मेयर जर्जली कारास्कोनीले सुरुमा बन्द रंगशालाभित्र फाइनल खेलाउने योजना भएको बताएका छन् । एकाएक हजारौँ दर्शक रंगाशालामा कसरी छिरे, आफूलाई जानकारी नभएको उनको भनाइ छ । बुढापेस्ट पुगेका दर्शकलाई शनिबार कोरोना परीक्षण गर्न जर्मन सरकारले भनेको छ । ‘प्रतियोगिता हेरेका सबै दर्शकले कोरोना अनिवार्य रूपमा टेस्ट गराउनुपर्छ,’ आरटिएलले भन्यो । यता, सेभिल्लाले समर्थकलाई कोरोना परीक्षण गर्न भनेको छ । रंगशालाभित्र प्रवेश गर्नुअघि एलिजान एरिनामा कोरोना परीक्षण भएको थियो ।

Maruti Cement