गर्मी र वर्षाको मौसममा ओसिलो र न्यानो वातावरणमा विभिन्न खालका कीटाणुहरूको अत्यधिक वृद्धिका कारण सरुवा रोग अर्थात् संक्रामक रोगहरू तुलनात्मक रूपमा बढी देखापर्छन्। त्यसमाथि महिलाको यौनांगको बनावट र अवस्थितिका कारण सरसफाइमा अलिकति तलमाथि हुनासाथ विभिन्न समस्या उत्पन्न हुन्छन्। गर्मी याममा घाउ आउने, दुख्ने, चिलाउने आदि समस्या बढी हुन्छ।
स्त्री रोग विभागको बहिरंगमा आउने करिब १० प्रतिशत महिलाले यौनांगवरिपरि चिलाउने गुनासो गर्छन्। छालाको समस्या, फंगल भाइरस, जुम्रा तथा चुर्नाको कारण, भिरिंगी, एलर्जीका कारण चिलाउने हुन सक्छ। कहिलेकाहीँ क्यान्सरको पूर्वस्थितिको पूर्वलक्षणका रूपमा पनि चिलाउने हुन सक्छ। यसको अलावा मधुमेह, भिटामिनको कमी, कुपोषणका कारण पनि यौनांगवरिपरि चिलाउने हुन्छ।
यौनांग वरिपरिको कतिपय समस्यामा चिलाउने र पीडा हुने सँगसँगै हुन सक्छ। स्त्री जननेन्द्रियमा दुख्नु एवं पीडा हुनु र चिलाएको अनुभूति हुनु फरक कुरा हो भन्ने कुरा मनन गर्न जरुरी छ। महिलाको यौनांगवरिपरि चिलाउने समस्याले पीडा गराउने, अंग विशेषमा छुँदा वा दबाउँदा दुख्ने एवं सुन्निने पनि हुँदैन। प्रताडित महिलाले रातिको समयमा बढी चिलाउने गुनासो गर्छन्। रातिको समयमा एकाग्रता बढ्नु, केन्द्रीय स्नायु प्रणाली थकित हुनु र यौनांगवरिपरि तातोपना बढ्नु तथा हावाको चलखेल घटी हुनुको कारणले पनि राति बढ्ता चिलाउँछ।
यौनांग किन चिलाउँछ ?
स्त्री जननेन्द्रियको योनिस्राव, त्यस वरपरको छालाको समस्या, विभिन्न खाले संक्रमण एवं भल्भामा लाग्ने क्यान्सर तथा क्यान्सरपूर्वको अवस्थामा यौनांग चिलाउने हुन्छ। साथै, महिलामा मधुमेह वा एलर्जीको समस्या छ भने पनि पटक–पटक यौनांग चिलाउने समस्या भइराख्छ। स्त्री जननेन्द्रिय अन्तर्गतको योनिद्वारमा ट्राइकोमोनास तथा क्यान्डिडाको संक्रमणका कारणले हरियो वा सेतो पानी (योनिस्राव) बग्यो भने चिलाउने पनि हुन्छ। तर, यौनांगवरिपरि पिलो वा अन्य पीपयुक्त समस्याका कारण यौनांग चिलाउने र योनिद्वार आसपासका भल्भामा पीडा उत्पन्न गराउँछ। त्यसै गरी, यौनांगको समस्या तथा सोरियासिस, सेबोरिक डर्माटाइटिस, इन्टरट्राइगोलगायत भल्भाकै छालाजन्य समस्याले पनि यौनांगवरिपरि चिलाउँछ।
भल्भामा चिलाउने समस्या भएका महिलामा मधुमेह, औषधिको एलर्जी, भिटामिन विशेषको कमी हुन सक्छ। ती महिला मनोरोगबाट प्रताडित भएको पनि हुन सक्छ। त्यसो त भल्भामा चिलाउने समस्या अन्य रोगको एउटा लक्षण मात्र हुन सक्छ। त्यसैले चिलाउने समस्या भएका महिलालाई विस्तृत तवरमा चिलाउन थालेको अवधि, अन्य लक्षण–चिन्ह, परिवार नियोजनको साधन प्रयोग, मानसिक समस्या, भित्री कपडाको बनोटबारे सोध्नुपर्छ। शारीरिक जाँचका क्रममा उनीहरूको पोषणको स्थिति, पंmगल वा अन्य संक्रमणको प्रमाण, चुर्ना, दाद भए नभएको चेक गर्नुपर्छ।
सम्भावित रोगको निक्र्यौलका लागि प्रभावित क्षेत्रको छाला खुर्केर एवं रगत, पिसाब, दिसाको जाँचबाट कारक तत्त्व पत्ता लगाउन सकिन्छ। तर, भल्भामा मात्र अत्यधिक चिलाउने समस्या छ भने ट्राइकोमोनास, क्यान्डिडा संक्रमण, भल्भाकै छालाजन्य समस्या, मधुमेह तथा भल्भाकै क्यान्सर वा ट्युमर हुन सक्छ। उपचारका क्रममा व्यक्तिगत सरसफाइ, भित्री कपडाको उचित छनोट, एन्टिबायोटिक वा स्टेरोइडयुक्त मलमको प्रयोग आदि पक्षमा ध्यान दिनुका साथै मधुमेह, एलर्जीको यथोचित उपचार पनि गर्नुपर्छ। यौनांगको सरसफाइका लागि तडकभडक विज्ञापनको प्रलोभनमा परी विभिन्न किसिमका स्याम्पू वा भजाइनल वासहरू प्रयोग गर्नुभन्दा नियमितजसो साधारण तवरमा सफा पानीले धोइपखाली गरी यौनांग सुख्खा राख्नु बुद्धिमानी हुन्छ। यौनांग चिलाउने समस्या रहिरहेमा सम्बन्धित चिकित्सकको सल्लाह र परामर्श लिन ढिलो गर्नु हुँदैन। किनकि, ट्युमर वा क्यान्सर लागेको भए प्रभावित क्षेत्रबाट मासुको अंश निकाली (बायोप्सी गरी) त्यसको रिपोर्टअनुसार आवश्यक उपचार सुरु गर्नुपर्छ।