ताजा अपडेट
श्रीपेज २६ फाल्गुन २०७७

‘वित्तीय क्षमतामा उल्लेख्य सुधारबाट मात्रै परिणाम’

रुपन्देही, २६ फागुन : लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले जनताको सबैभन्दा नजिक रहेका स्थानीय सरकारको वित्तीय क्षमतामा उल्लेख्य सुधार ल्याउन सकेमात्रै अपेक्षित परिणाम हासिल हुने बताउनुभएको छ । प्रमुख यादवले दीर्घकालीन महत्वका पूर्वाधारमा गरिने लगानीका लागि ऋण परिचालन नै एकमात्र उपाय भएकाले त्यसका लागि हरेक स्थानीय तहले आफ्नो प्राविधिक र वित्तीय क्षमतामा सुधार ल्याउन जरुरी रहेको धारणा राख्नुभयो ।

नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रमअन्तर्गत नगर विकास कोषले रुपन्देहीको मणिग्राममा आज आयोजना गरेको प्रादेशिक कार्यशालामा उहाँले सामाजिक पूर्वाधारमा गरिने लगानी र दिगोपनासहित भौतिक पूर्वाधारमा गरिने लगानीलाई फरकफरक दृष्टिकोण राखेर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले स्रोतको उच्चतम सदुपयोग गर्न र त्यसबाट प्राप्त लाभलाई सर्वसाधारण जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी तल्लो तहसम्म पु¥याउन सफल हुनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समयमा मात्रै आधारभूत शहरी पूर्वाधार सुविधा आमनागरिकले प्राप्त गर्नुपर्छ र त्यस्ता पूर्वाधारको विकास गर्दा तिनको दिगोपनालाई पनि साथ साथमा ध्यान पु¥याउन आवश्यक छ भन्ने कुराले नीति निर्माणको तहमा प्राथमिकता पाउन थालेको बताउँदै उहाँले यसबाट नै नगर विकास कोषजस्तो संस्थाको आवश्यकता महसुस हुन गएको उल्लेख गर्नुभयो । प्रदेश प्रमुख यादवले नेपाल सरकारबाट शहरी पूर्वाधार विकास, खानेपानी तथा सरसफाइलगायत आयोजनाका लागि प्राप्त हुने ऋण लगानी र अनुदानमा नगर विकास कोषले एकातिर वित्तीय मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको र अर्कोतिर स्थानीय तहमा आधारभूत सामाजिक पूर्वाधार तथा आयमूलक आयोजनाहरूमा ऋण तथा अनुदान लगानी गर्दै आइरहेको बताउनुभयो ।

“नगरपालिकाको आन्तरिक वित्तीय क्षमता अभिवृद्धि गर्दै ऋण बहन क्षमता वृद्धि गराउनका लागि सम्भावित नगरपालिकाको क्रेडिट रेटिङ गर्ने रणनीति कोषले अवलम्बन गरेको भन्ने जानकारी यहाँ मैले पाएको छु । यसले मलाई उत्साहित बनाएको छ”, प्रमुख यादवले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले देशको अर्थतन्त्रलाई मजबुत बनाउन शहरको व्यवस्थित विकास आवश्यक रहेको बताउनुभयो । “आफ्नै खुट्टामा उभिने गरी अर्थतन्त्र बलियो बनाउनेतर्फ सबै पालिका लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “हामी विसं २०२६ पछि विकासशील देशमा जाने भएका छौँ, विकासशील देशमा जाँदा व्यापार क्षेत्रमा हामीले पाएका सुविधा कटौती हुन सक्छ, त्यसै हामी मजबुत हुन आवश्यक छ ।”

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्यञ्जुले शहर देशको अर्थतन्त्रको केन्द्र भएकाले रोजगार सिर्जना गरी नागरिकको जीवनस्तर सुधार गर्ने कुरामा शहरको भूमिका रहने बताउनुभयो । उहाँले व्यवस्थित योजना बनाएर सभ्य र सुसंस्कृत शहर निर्माण गर्नुपर्ने बताउनुभयो ।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले नेपालमा नगरको निर्माण, विकास तथा विस्तार एवं नगरमा आधारभूत सामाजिक सेवा र आयमूलक आयोजना सञ्चालन गर्न तथा नगर विकाससँग सम्बन्धित निकायलाई आर्थिक र प्राविधिक सहयोग प्रदान गरी व्यवस्थित ढङ्गले नगरको विकास निर्माण गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले नगर विकास कोष ऐन, २०५३ बमोजिम एक स्वायत्त वित्तीय मध्यस्थकर्ता संस्थाको रुपमा स्थापना भएको कोषले विगत लामो समयदेखि यस क्षेत्रमा काम गर्दै आइरहेको जानकारी गराउनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले व्यवस्थित शहरीकरण आवश्यक रहेकाले नगरपालिकाले सोहीअनुसार योजना बनाएर पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले विज्ञको राय लिएर सुन्दर शहरको योजना बनाएर पालिका अगाडि बढ्नुपर्ने धारणा राखनुभयो । नगर विकास कोषका सञ्चालक सदस्य विष्णुदत्त गौतमले सही आयोजना छनोट गरेर लगानी गर्न नगरपालिकालाई सुझाव दिनुभयो । कोषको अहिलेकै क्षमताले नगरपालिकामा पर्याप्त लगानी गर्न नसक्ने भएकाले कोषको दायरा अझै बढाउनुपर्ने उहाँले बताउनुभयो ।

Maruti Cement